सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लालाई सबै प्रकारका नियमित खोपको पहुँच सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
नियमित खोप पाउनुपर्ने जिल्लाका सबै बालबालिकाले १४ प्रकारका नियमित खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कर्यालयका प्रमुख दुर्गा बजगाईंले बताईन् ।

जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १०३ वडामा रहेका १५१ स्वास्थ्य संस्था तथा ७११ जना महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनबाट खोप अभियान सफल भएको जानकारी दिइयाे।
कार्यक्रममा जिल्लाभर खोप पाउनुपर्ने लक्षित समूहले आवश्यक सबै खोप प्राप्त गरेको तथा १६ देखि २३ महिनाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पूरा गरेको घोषणा गरिएको थियो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पूर्ण खोप सुनिश्चित गर्नु स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धि भएको उल्लेख गर्दै यस उपलब्धिलाई दीगो बनाइराख्न स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको निरन्तर सहकार्य आवश्यक रहेको बताए।
उपप्रमुख पदमनाथ नेपालले नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यको आधार भएकाले यसको निरन्तरता र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले स्थानीय तहले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गरिएको बताए।
मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले पूर्ण खोप सुनिश्चित अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको योगदान प्रशंसनीय रहेको उल्लेख गरिन्।
विश्व स्वास्थ्य संगठनका डा. रुपेश तिमिल्सिनाले नियमित खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने भएकाले खोपको निरन्तरता, निगरानी र अभिलेखीकरणलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। साथै बागमती प्रदेशद्वारा प्रदान गर्ने पूर्ण खाेप सुनिश्चितताकाे प्रमाण – पत्र समेत जिल्ला खाेप
समन्वय समितिलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चित अभियान सफल बनाउन योगदान पुर्याउने स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस