
सिन्धुपाल्चोक। बलेफी गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष र गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उनीहरूका अभिभावक तथा सम्बन्धित विद्यालयलाई सम्मान गरेको छ।
गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ तथा प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत तथा वडा अध्यक्षहरुले उत्कृष्ट विद्यार्थी, अभिभावक र विद्यालयका प्रतिनिधिलाई सम्मानपत्र तथा कदरपत्र प्रदान गरेका थिए।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा -१२ , माध्यमिक शिक्षा परीक्षा (SEE) तथा आधारभूत तह परिक्षा कक्षा -८ (BLE) मा २०८१ र २०८२ मा उत्कृष्ट जिपीए ल्याउने बिद्यार्थीलाई नगद सहित सम्मान गरेकाे हाे । गाउँपालिकाकाे नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार ४.० जिपिए ल्याउने बिद्यार्थीलाई नगद रु ५० हजार, SEE मा ३.६ जिपीए तथा BLE मा ३.८ जिपिए भन्दा माथि ल्याउने बिद्यार्थीलाई नगद रु १० हजार सहित सम्मान गरेकाे हाे । साथै गाउँपालिका भित्रका आमा बुबा विहिन बिद्यार्थीलाई पनि नगद छात्रवृत्ति पनि वितरण गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्नुको उद्देश्य अन्य विद्यार्थीलाई पनि मेहनत र प्रतिस्पर्धाका लागि प्रेरित गर्नु रहेको बताए। उनले शिक्षाको गुणस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट विद्यार्थी र विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

उपाध्यक्ष सरु लामा तामाङले विद्यार्थीको सफलतामा अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूलाई समेत सम्मान गरिएको बताइन्। उनले सामूहिक प्रयासबाट मात्रै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरिन्।
प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतले सम्मानले विद्यार्थी, विद्यालय र अभिभावकबीच सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा आउने अपेक्षा रहेको बताए।
गाउँपालिकाले यस वर्षलाई “शैक्षिक सुधार वर्ष” का रूपमा अघि बढाइरहेको सन्दर्भमा आयोजना गरिएको यो कार्यक्रमलाई शिक्षा क्षेत्रको सुधार र उत्कृष्ट कार्यको कदर गर्ने अभियानको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस