२०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026

स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणमा जाेड दिउँ


  • न्युज कोशी
  • २०८३ अषाढ १२, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ५१ पाठक संख्या
  • सिन्धुपाल्चोक । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को प्रभावकारी कार्यान्वयन, स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिहिवार बार्हविसेमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


    जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वय /सहकार्यमा भएको कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, स्तनपानको महत्व, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचारप्रसार तथा बिक्री–वितरण नियन्त्रणका कानुनी पक्ष र लागूऔषध दुव्र्यसन नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो ।

    जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख श्रेष्ठले स्तनपानको महत्त्व सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले व्यवसायीलाई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता भगवतीदेवी गौतमले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ बारे जानकारी गराउनुभयो

    त्यस्तै कार्यक्रममा बक्ताहरुले लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा नकारात्मक असर पार्ने भएकाले यसको न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउएका थिए ।

    जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले आमाको दूध नवजात शिशुको लागि सबैभन्दा सुरक्षित, पोषणयुक्त र जीवनरक्षक आहार भएको बताउँदै शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने तथा कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस रहेको जानकारी दिनुभयो ।

    उहाँले आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै कुपोषण, संक्रमण र अन्य स्वास्थ्य समस्याबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । साथै, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ लामो समयअघि बने पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै सबै सरोकारवाला पक्षलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा सहभागी वक्ताहरूले आमाको दूधको महत्वबारे समुदायस्तरसम्म जनचेतना फैलाउनुपर्ने, शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनुपर्ने तथा लागूऔषध दुव्र्यसनविरुद्ध समाजका सबै तह र तप्काले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

    अन्तरक्रिया कार्यक्रममा , जनप्रतिनिधि , कर्मचारी , उद्योग बाणिज्य संघका प्रतिनिधि , सुरक्षाकर्मी, जनस्वास्थ्य कार्यालय लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत साहारा सापकोटाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट