सिन्धुपाल्चोक। बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित सेवा प्रवाह, विकास निर्माण, बजेट कार्यान्वयन, सुशासन, समृद्धि तथा जवाफदेहितासम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकले सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि लगायतका विषयमा आफ्ना जिज्ञासा, गुनासा तथा सुझाव राखेका थिए।

कार्यक्रममा उठाइएका प्रश्न तथा गुनासाहरूको नगर प्रमुख बालकृष्ण बस्नेत उपप्रमुख मञ्जु तामाङ, प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली तथा सम्बन्धित वडा अध्यक्षहरूले जवाफ दिएका थिए। उनीहरूले नगरपालिकाले पारदर्शिता, सुशासन र उत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नागरिकका सुझावलाई आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

नगर प्रमुख बस्नेतले सार्वजनिक सुनुवाइ नागरिक र स्थानीय सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै जनताका गुनासा तथा सुझावलाई विकासको आधारका रूपमा लिइने बताए। उपप्रमुख तामाङले सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन नगरपालिकाले निरन्तर सुधारका प्रयास गरिरहेको जानकारी दिइन्।
प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले नगरपालिकाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहका विषयमा जानकारी प्रस्तुत गर्दै नागरिकका प्रश्नहरूको तथ्यगत जवाफ दिएका थिए।
कार्यक्रममा विभिन्न वडा अध्यक्षहरूले आ–आफ्ना वडामा सम्पन्न भएका विकास निर्माणका काम, चालु योजनाको अवस्था र आगामी प्राथमिकताबारे जानकारी दिँदै स्थानीयले उठाएका गुनासाको सम्बोधन गरेका थिए।

रास्वपाका नगरसभापति साङ्बुशेर्पा, नेकपा एमालेका ज्ञानेन्द्र राउत र राप्रपाका शिव पाैडेल, वडा अध्यक्ष निमा शेर्पा लगाएतकाले समेत मन्तव्य राखेका थिए ।
नगरपालिकाका अनुसार सार्वजनिक सुनुवाइले स्थानीय सरकारको कामकारबाहीलाई थप पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रमको सहजीकरण सिन्धु बुलन्द साप्ताहिक ले गरेको थियो।

प्रतिक्रिया दिनुहोस