
सिन्धुपाल्चाेक । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार सञ्चारकर्मीहरूसँग अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८२/२०८३ को स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू तथा विगतको प्रगति समीक्षाका विषयमा सञ्चारकर्मीहरूसँग उक्त अन्तरक्रिया गरिएको हो ।
बागमती प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षभित्र ‘एक जिल्ला स्वास्थ्य सहर’ बनाउने अभियान पूरा गर्ने लक्ष्य लिइएको छ। यसैगरी, ‘एक स्थानीय तह एक नमुना स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकामा यो अभियान सुरुवात भइसकेको छ। बाँकी ११ वटा पालिकाहरूमा पनि आगामी आर्थिक वर्षभित्र यो कार्यक्रम विस्तार गरी पूरा गर्ने लक्ष्य जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईले स्वास्थ्य क्षेत्र र कार्यालयका गतिविधिबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाहरूको प्रष्टीकरण दिनुभएको थियो। उहाँले जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले एक वर्षको अवधिमा हासिल गरेका समग्र प्रगति, चुनौती र आगामी कार्यदिशाबारे आफ्नो स्पष्ट धारणा राख्नुभयो ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत बबिता श्रेष्ठले कार्यालयले एक वर्षको अवधिमा गरेका प्रगति विवरण तथा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरूको विस्तृत खाका समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो सुझाव तथा धारणा राख्दै नेपाल पत्रकार महासङ्घ सिन्धु शाखाका उपाध्यक्ष दीपक अर्यालले जिल्ला जनस्वास्थ्य कार्यालयले गरेका सकारात्मक कार्यहरूको प्रशंसा गर्नुभयो। साथै, उहाँले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका विद्यमान समस्याहरू औंल्याउँदै आगामी दिनमा कार्यालयले सुधार्नुपर्ने पक्ष र पत्रकार-जनस्वास्थ्य कार्यालयबीचको सहकार्यका विषयमा रचनात्मक सुझावहरू दिनुभएको थियो

प्रतिक्रिया दिनुहोस