- सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुली ७ हजार ८५ मतान्तरले निर्वाचित भएका छन्।
- पराजुलीले २४ हजार ४ सय १२ मत पाएका छन् भने नेकपाका माधव सापकोटाले १७ हजार ३ सय २७ मत पाएका छन् ।
२४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत प्रसाद पराजुली निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटालाई ७ हजार ८५ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार पराजुलीले २४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् भने सापकोटाले १७ हजार ३ सय २७ मत पाएका छन्। त्यसैगरी नेकपा एमालेका सरेश नेपालले ११ हजार ९ सय ६१ मत ल्याउँदा नेपाली कांग्रेसका जंग बहादुर लामाले ११ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा निर्वाचित पराजुली ऊर्जा क्षेत्रसँग लामो समयदेखि जोडिएका व्यवसायी तथा लगानीकर्ताका रूपमा परिचित छन् । उनी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् । १९ भदौ २०२५ मा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् ।
पराजुली करिब दुई दशकभन्दा बढी समयदेखि जलविद्युत् क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजनामा संलग्न रहँदै आएका छन् । ऊर्जा क्षेत्रका परियोजनामा लगानी तथा व्यवस्थापनको अनुभव भएका उनले नेपालभर ८० भन्दा बढी जलविद्युत् आयोजनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गरेको उल्लेख गरिएको छ ।
हाल पराजुली जुगल गाउँपालिकामा निर्माणाधीन ब्रह्मायणी खोला जलविद्युत् आयोजनामा प्रमुख प्रवर्द्धक तथा अध्यक्षका रूपमा संलग्न छन्। उक्त आयोजनामा उनको लगानीसमेत रहेको बताइन्छ ।
निजी क्षेत्रको अनुभवलाई राजनीतिसँग जोड्दै उनले ऊर्जा विकास, स्थानीय रोजगारी सिर्जना, पूर्वाधार विस्तार र दिगो आर्थिक विकासलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्। संसदीय अनुभव नभए पनि व्यवसायिक नेतृत्व, व्यवस्थापन क्षमता र ऊर्जा क्षेत्रको ज्ञानका कारण उनी नयाँ अनुहारका रूपमा मतदातामाझ चर्चामा आएका थिए।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट माओवादी केन्द्रका माधव सापकोटा ३० हजार ४०८ मत ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला एमालेका सरेश नेपाल २७ हजार ६६ मतसहित दोस्रो भएका थिए भने रास्वपाका उम्मेदवार दिनेश श्रेष्ठ ३ हजार ५०३ मतमा पाएका थिए ।





















प्रतिक्रिया दिनुहोस