
चौतारा,२२ असार । बाढीका कारण क्षतिग्रस्त मेलम्ची बजार नजिक रहेको ईन्द्रवती बेलिब्रिज शुक्रवार उद्घाटन गरिएको छ । नेपाली सेनाद्धारा निर्माण भएको पुल स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले एकैसाथ उद्घाटन गरेका हुन् । पुलले मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोडिएको छ ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाढी पहिरोले पुल बगाएपछि स्थानीयवासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा सेनाको सहयोगमा बेलिब्रिज छोटो समयमै निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेना सधैं नेपाली जनताको सुख दुःखमा साथ दिँदै आइरहेको बताउँदै मेलम्ची बेलिब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरणहो शर्माले भने । प्रधानसेनापति शर्माले सेना नेपाली जनताको साझा सम्पति भएकाले जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेको धारणा राखे ।
बाग्मती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले मेलम्ची बेलीवृज समयमै सम्पन्न भएकोमा जोड दिँदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताए। उद्घाटन कार्यक्रममा सम्वन्धित मेलम्ची नगरपालिकाका प्रमुख लगाएतका जनप्रतिनिले भने अनुपस्थित जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस